पर्सामा कोरोना संक्रमित थपिएको थपियै, १ चिकित्सकसहित ४३ जनामा संक्रमण, हालसम्म १४ को मृत्यु



पर्सा साउन २२ । पर्सामा कोरोना संक्रमित निरन्तर थपिएका छन् । विभिन्न निकायले समुदायस्तरमा कोरोना फेलिएको निष्कर्ष निकालिएको पर्सामा पछिल्लो समय संक्रमित र मृत्युको दरसमेत बढिरहेको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४३ जना संक्रमितमध्ये ११ जना नेपाली सेनामा कार्यरत रहेका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । उनका अनुसार संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् ।

नारायणी अस्पतालको शल्यक्रिया विभागका एक स्टाफसहित स्टाफ परिवारका २ जनामा पनि संक्रमण देखिएको छ । संक्रमण पुष्टि हुनेमा वीरगन्ज महानगरपालिका–श० अशोकवाटिका निवासी नारायणी अस्पतालमा डायलसिस गराउँदै आएकी ३५ वर्षीया महिला पनि छिन् ।

साउनयता पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्