सर्लाहीमा ईभी र केमिकल बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते



सर्लाही,कात्तिक ७ । सर्लाहीमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) र साबुन बनाउन प्रयोग हुने रसायन बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका छन्। घाइते सबै बारा जिल्लाका विभिन्न स्थानीय तहका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएकोमा गम्भीर घाइते सुवर्ण गाउँपालिका–४ निवासी ३७ वर्षीय रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ। अन्य घाइतेमध्ये तीन जना मध्यम र आठ जना सामान्य अवस्थामा रहेको विवरणमा उल्लेख छ।

दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोक निवासी अन्दाजी ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।

दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने पहल भइरहेको र दुर्घटनाका कारण राजमार्गमा सडक अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्