मुस्ताङबाट दसैँमा ३६ करोडभन्दा बढीका भेडाच्याङ्ग्रा बिक्री
मुक्तिनाथ, कात्तिक ७ । दसैँमा मुस्ताङबाट ३६ करोड रुपैयाँभन्दा बढी मूल्यका १३ हजार ९५० वटा भेडाच्याङ्ग्रा बिक्री भएका छन्।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालका अनुसार मुस्ताङसहित डोल्पा, मुगु, जुम्ला र तिब्बतको कोरला नाकाबाट ल्याइएका भेडाच्याङ्ग्रा बिक्री भएका हुन्। यस वर्ष हिमपात र बाढीपहिरोका कारण डोल्पाबाट भेडाच्याङ्ग्रा कम आएका छन्।
भेडाच्याङ्ग्रा प्रतिगोटा २८ हजारदेखि ५२ हजार रुपैयाँसम्ममा बिक्री भएको छ। तिहारलाई लक्षित गरी करिब दुई करोड रुपैयाँका थप भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्षमा मुस्ताङबाट १५ हजार ६०० वटा भेडाच्याङ्ग्रा बिक्री हुँदा ३६ करोड ५० लाख रुपैयाँ भित्रिएको थियो। यस वर्ष डोल्पाबाट आपूर्ति घटेकाले बजारमा मूल्य बढेको व्यापारीहरूले बताएका छन्।

