लिमीमा हिमपातले बेपत्ता भएका थप १८ चौँरीगाईको सकुशल उद्धार
हुम्ला,कात्तिक ७ । नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको लिमी उच्च पाटनमा हिमपातका कारण बेपत्ता भएका थप १८ वटा चौँरीगाईको सकुशल उद्धार गरिएको छ। पाँच दिनदेखि खोजीमा खटिएका दुई समूहले ती चौँरीगाई फेला पारी सुरक्षित स्थानमा ल्याएका हुन्।
वडाध्यक्ष पाल्जोर तामाङका अनुसार शुक्रबार लाप्चा क्षेत्रको उच्च पाटनअन्तर्गत लिङ, साँक्या र गेउ खोलामा खोजी गर्ने क्रममा चौँरीगाई फेला परेका हुन्। तीमध्ये तील गाउँका तीन जना महिलाको समूहले १२ वटा र हल्जी गाउँको समूहले छ वटा चौँरीगाई उद्धार गरी ताक्ची पुर्याएको उहाँले बताउनुभयो।
गत असोज १० र ११ गते भएको हिमपातका कारण चरनमा रहेका पशु बेपत्ता भएका थिए। हालसम्म २५५ वटा चौँरीगाई, ५० वटा घोडा र २० वटा गोरु (झोपा) गरी कुल ३२५ वटा पशुको सकुशल उद्धार गरिएको छ।
अझै दुई समूह उच्च पाटनमा बेपत्ता पशुको खोजीमा खटिइरहेका छन्। खोजी जारी रहेकाले उद्धार गरिएका पशुको सङ्ख्या थप बढ्न सक्ने स्थानीयले विश्वास गरेका छन्। हिमपातका कारण मरेका पशुको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।

