नुवाकोटका प्रहरी हवल्दार पाण्डे असोज महिनाको उत्कृष्ट प्रहरी घोषित



नुवाकोट,कात्तिक ७ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रहरी हवल्दार ठगेन्द्रबहादुर पाण्डेलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको अपराध अनुसन्धान शाखामा कार्यरत पाण्डेले सूचना संकलन, फरार प्रतिवादी पक्राउ तथा विभिन्न अपराधको अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

पाण्डेले लागूऔषध मुद्दामा फरार काठमाडौं महानगरपालिका–२६ की ५६ वर्षीया सीता श्रेष्ठलाई गोप्य सूचनाका आधारमा असोज १२ गते आफ्नै स्थायी ठेगानाबाट पक्राउ गरेका थिए। उनलाई नुवाकोट जिल्ला अदालतमा पेस गर्दा अदालतको फैसलाअनुसार ११ महिना ८ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने निर्णय भएको थियो।

त्यस्तै, असोज महिनामा विभिन्न कसुरमा फरार रहेका १२ जना प्रतिवादी पक्राउ गर्न पनि पाण्डेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण विदुर नगरपालिका–३ देवीघाटस्थित त्रिशूली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको महिलाको शवबाट मुन्द्रा र औँठी चोरी भएको घटनाको अनुसन्धानमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए। सूक्ष्म रूपमा सूचना संकलन गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गर्न उनले भूमिका खेलेका थिए। पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी अधिकृतबाट प्राप्त निर्देशनको पालना गर्दै सूचना संकलन, फरार प्रतिवादी पक्राउ र अदालतको फैसला कार्यान्वयनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पाण्डेलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्