विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल



काठमाडौं साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् ।

सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प कार्यान्वयनमा आइसकेको पनि बताए । सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि मन्त्री पोखरेलले आग्रह गरे ।

विद्यार्थीलाई घरमै गएर पढाउने जस्ता काम पनि भएको भन्दै उनले यो विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको मन्त्री पोखरेलले बताए ।

उनले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गरे । पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको र विद्यार्थीको ध्यान पढाइबाट अन्यत्र केन्द्रित हुन थालेको भन्दै सांसदहरुले पढाइ कहिलेदेखि सञ्चालन हुन्छ भनी सोधेका थिए ।

पुरै शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिएको पनि मन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्