काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुन्छ : मन्त्री ज्ञवाली



काठमाडौ साउन २६ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताएका छन्।

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताए । नेपालले कनेक्टिभीलाई विविधीकरण गर्ने नीति लिएको उनले बताए।

नेपाल चीनबीच सीमा क्षेत्र कठिन भूभागमा भएपनि प्रविधिको विकासका कारण कुनै प्रकारको समस्या नहुने दाबी मन्त्री ज्ञवालीको छ । पछिल्लो समयमा नेपाल र चीनबीच प्रत्येक वर्ष महत्वपूर्ण भ्रमण र सम्झौता भइरहेको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उनले बताए।

सन् २०१६ मा भएको केपी शर्मा ओलीको चीन भ्रमण, सन् २०१७ मा बेल्ट तथा रोड इनिसिएटिभ ९बीआरआई० मा नेपालको हस्ताक्षर, सन् २०१८ मा ओलीको चीन भ्रमण र सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण दुवै देशबीचको सम्बन्धमा महत्वपूर्ण कडी भएको बताए।

कार्यक्रममा ज्ञवालीले चीनसँग भएको सम्झौता कार्यान्वयन गर्ने विषयलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। उनले अमेरिका र चीनबीच बढेको व्यापारिक तनाव र चीन र भारतबीचको सीमा तनावले चिन्ता बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्