कांग्रेसका १२ युवा नेताको देउवालाई चुनौती, विभाग गठन र मनोनयन खारेजीको माग



काठमाडौंसाउन २७ ।

नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनको संघारमै आएर पार्टी संस्थापन पक्षले एकलौटी रुपमा विभाग गठन र पदाधिकारी मनोनयन गर्न थालेपछि पार्टीका युवा नेताहरु आक्रोशित भएका छन् । साथै, जनभावना विपरित बुढा पुस्ताका नेताहरु चल्न थाले अब आफूहरु नै नेतृत्व सम्हाल्नसमेत तयार रहेको पनि प्रष्ट पारेका छन् ।

पार्टीका युवा केन्द्रीय सदस्यहरुले महाधिवेशन प्रक्रिया प्रारम्भ भइसकेपछि सभापति शेरबहादुर देउवाले गरेको विभाग गठन र मनोनयन आचारसंहिताको समेत खिलाफ भएको भन्दै तत्काल फिर्ता लिन आह्वान गरिएको छ । पार्टी केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, कमला पन्त, गगनकुमार थापा, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– बिशेष परिस्थितिको सुविधा प्रयोग गरेर एक बर्ष कार्यकाल थपिएपनि अब आगामी फागुन भित्र कुनैपनि हालतमा महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्थामा एकलौटी रुपमा विभाग गठन र पदाधिकारी नियुक्तिले राम्रो सन्देश दिएको छैन । पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै नेता कार्यकर्ताबीच सुमधुर तथा हार्दिक सम्बन्ध बनाउनु पर्ने बेला सभापतिबाटै यस्तो अपरिपक्व र पूर्वाग्रही काम गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै विज्ञप्तिमा पार्टी भित्र देखिएका विवाद र तिक्ततालाई निमिट्यान्न पारी भावनात्मक एकता कायम गर्ने अभिभारा सबैको साझा कर्तव्य भएको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्