नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय पुग्यो



काठमाडौं साउन ३० ।

नेपालमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको हो ।

जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजाँदा जिल्ला अस्पताल र प्रादेशिक अस्पतालमा भेन्टिलेटर नपाउँदा काठमाण्डौ पठाइएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बिहीबार निधन भएको र शुक्रबार कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर १ मा नौ जना, प्रदेश नम्बर २ मा ४३ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

गएको २४ घण्टामा मात्रै कोरोनाका कारण पाँच जनाको मृत्यु भएको छ । मोरङ, धनुषा र सिरहामा १ १ जना र बारामा दुई जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्