अविरल वर्षाले देशभर सडक सञ्जाल प्रभावित, प्रमुख राजमार्गहरू अवरुद्ध



काठमाडौं,साउन १४ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।

वर्षाका कारण इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि आवागमन बन्द भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीको कटानका कारण सडक अवरुद्ध भएको छ भने ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

यसैगरी, जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलाको बाढीले सडक कटान गर्दा उक्त सडकमा पनि सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्