प्रचण्डको सरकारलाई आग्रह : संवाद र सहकार्यबाट राष्ट्रिय समस्या समाधान गरौँ



काठमाडौं, साउन १४ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक, संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका जटिल समस्या र चुनौतीहरू संवाद, सहकार्य र राष्ट्रिय सहमतिका माध्यमबाट समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले देशको वर्तमान राजनीतिक तथा सामाजिक अवस्था सहज नरहेको उल्लेख गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद र त्यसपछि भएको दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रचण्डले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षा निकायको भूमिका र गोली चलाउनुपर्ने परिस्थितिबारे निष्पक्ष तथा विस्तृत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो।

उहाँले विगतका राजनीतिक सङ्कट, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा सत्ता र प्रतिपक्षबीचको सहकार्यले नै निकास दिएको स्मरण गराउँदै संसद्मा दलहरूको सङ्ख्या अस्थायी विषय भए पनि राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको प्रतिबद्धता र उपलब्धिको रक्षा नै सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो।

प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुभवी राजनीतिक नेतृत्व, विज्ञ र विभिन्न राजनीतिक दलसँग निरन्तर संवाद र सहकार्य गर्न सुझाव दिँदै उहाँले सहकार्यको राजनीतिले मात्रै देशका चुनौती समाधान गर्न सक्ने धारणा राख्नुभयो।

देशमा बढ्दै गएका हिंसा, आत्मदाह र हत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डले नागरिकमा आशा र विश्वास जगाउने दायित्व राजनीतिक नेतृत्वको काँधमा रहेको बताउनुभयो। साथै, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सीमा समस्याका विषयमा आफ्नो धारणा सधैँ स्पष्ट रहेको उल्लेख गर्दै सरकारले जनताको हितमा काम गरे पूर्ण समर्थन रहने र जनविरोधी गतिविधि भए निरन्तर खबरदारी गर्ने चेतावनीसमेत दिनुभयो।

प्रतिक्रिया दिनुहोस्