सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी



सिरहा, साउन १४ — स्थानीय प्रशासनले सिरहाको गोलबजार आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आन्दोलन तथा हुलदंगा भई शान्ति–सुरक्षा भंग हुन सक्ने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको छ।

प्रशासनका अनुसार कर्फ्यू पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोकसम्म लागू गरिएको छ।

त्यसैगरी, उत्तरतर्फ गोलबजार नगरपालिका–६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका–४ मा रहेको राजेन्द्र प्रसाद राजदेवी बहुमुखी क्याम्पस आसपासको क्षेत्रसम्म कर्फ्यू आदेश लागू गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले कर्फ्यू अवधिमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्