सांसद गणेश पौडेलमाथि कालो मोसो प्रहार प्रकरण : दुई पक्राउ, थप अनुसन्धान जारी
काठमाडौं,साउन १४ । प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मोसो प्रहार गरी अमानवीय व्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत साउन ७ गते गढीमाई नगरपालिका–७ स्थित मठ मन्दिर नजिक सांसद पौडेलले जनगुनासो सुनिरहेका बेला केही व्यक्तिले ‘मधेश मुक्ति अभियान’ सम्बन्धी नारा र पर्चा प्रदर्शन गर्दै पछाडिबाट कालो मोसो प्रहार गरेका थिए।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा गढीमाई नगरपालिका–३ घर भई हाल वडा नं. ७ धनाडी बस्ने २० वर्षीय शेख इर्फान र गढीमाई नगरपालिका–३ गाहेरिया बस्ने १९ वर्षीय इर्फान अन्सारीलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिको खोजी तथा पक्राउ अभियानलाई पनि तीव्र बनाएको जनाएको छ। सांसद पौडेलमाथि भएको कालो मोसो प्रहारको घटनापछि विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रबाट घटनाको आलोचना गर्दै संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको थियो।

