पाँचौँ चरणको उद्धार उडान सुरु, आज यी देशहरुबाट नेपाली स्वदेश फर्किनेछन्



काठमाडौं भदौ १ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सोमबारदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन् । नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान तालिका सार्वजनि गरेका छन् ।

सरकारले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्ररुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ ।
विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ । सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ । तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैंले टिकट काटेर आउनेछन् । स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५१ हजार ४४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्