जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, प्रशासनद्वारा शान्ति–सुरक्षामा सहयोग गर्न आग्रह



जनकपुरधाम, साउन १४ — जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम तथा आसपासका क्षेत्रमा सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

बिहीबार बिहानदेखि जनकपुरधाममा प्रदर्शनकारी सक्रिय भएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा उक्त आदेश लागू गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

कर्फ्युको दायरा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित स्टिल उद्योग क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्रसम्म फैलिएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा जिल्लाको शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्