भारतमा एक जलविद्युत केन्द्रमा आगलागी , ६ जनाको मृत्यु



एजेन्सी भदौ ५ ।

भारतको तेलंगनास्थित एक जलविद्युत केन्द्रमा आगलागी हुँदा ६ जनाको शव भेटिएको छ । अरु ३ जना भित्रै थुनिएका छन् ।

बिहीबार राति भएको आगलागीमा ९ जना थुनिएका थिए । बिहान मात्रै ६ जनाको शव फेला परेको हो । तेलंगनाको श्रीसैलम जलविद्युत कार्यालयमा आगलागी भएको हो । जुन आन्ध्र प्रदेशसँग जोडिएको तेलंगनाको सीमा क्षेत्रमा पर्छ ।

शुक्रबार दिउँसोसम्म पनि आगलागीभित्र थुनिएका तीनजनालाई उद्धार गर्ने प्रयास भइरहेको स्थानीय मिडियाले जनाएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार शव भेटिएकामध्ये दुईजना त्यहीँ कार्यरत एसिस्टेन्ट इन्जिनियर भएको कार्यालयका कर्मचारीहरुले जनाएका छन् ।

कार्यालयबाट दिउँसोसम्म पनि बाक्लो धुवाँको मुस्लो टनेलबाट उडिरहेको छ । घटनासँगै त्यहाँ कार्यरत १० जना कर्मचारी भाग्न सफल भएका थिए भने डिभिजन इन्जिनियर, एसिस्टेन्ट इन्जिनियर सहित ९ जना थुनिएका हुन् ।

तेलंगनाको मुख्यमन्त्री कार्यालयले यस घटना कसरी भयो भन्ने बारे विस्तृतमा छानविन गर्ने जनाएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले भने यस घटनासँगै आफ्नो अर्को एक भ्रमण कार्यक्रम स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्