नुवाकोटवासीलाई सांसद खतिवडाको अपील : बन्दाबन्दी, निषेधाज्ञा र स्वास्थ्य सल्लाहहरुको अनुशरण गर्नुहोस्



नुवाकोट ७ भदौ । नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद नारायणप्रसाद खतिवडाले बन्दाबन्दी (लकडाउन), निषेधाज्ञा र स्वास्थ्य सल्लाहहरुको अनुशरण गर्न जिल्लावासीहरुमा अपील गरेका छन् ।

सांसद खतिवडाले आइतबार अपील जारी गर्दै कोरोना भाइरस संक्रमणबाट बच्‍न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलगायत स्थानीय पालिकाहरुले विभिन्न मितिमा तोकेका बन्दाबन्दी, निषेधाज्ञा र स्वास्थ्य सल्लाहहरु अनुशरण गर्न आग्रह गरेका हुन् । ‘जोखिमयुक्त वातावरणलाई कम गर्दै कोरोना संक्रमणरहित वातावरण सिर्जना गर्न हामी आफैँ सक्षम छौँ । यसका लागि हामीले विज्ञहरुको सल्लाह, स्थानीय प्रशासन र स्थानीय सरकारका सल्लाह, अनुरोध र आदेशको पालान गर्नु र आफूलाई संयमित बनाइराख्नु पर्दछ,’ उनको अपीलमा छ, ‘जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलगायत तपाईँहरुका स्थानीय पालिकाहरुले विभिन्न मितिमा बैठक बसी परिस्थितिको विश्लेषण गर्दै तोकेका बन्दाबन्दी, निषेधाज्ञा र स्वास्थ्य सल्लाहहरुको हार्दिक अनुशरण गर्नुहुन म सम्पूणर् जिल्लावासीहरुमा अपिल गर्दछु ।’

संकटको घडीमा आफूहरु जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै सधैँ साथमै रहेको उल्लेख गर्दै सांसद खतिवडाले आजको प्रमुख चुनौती बाँच्नु रहेको बताए । उनले स्वास्थ्य रक्षाका लागि अहोरात्र खटिरहने जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, स्थानीय जनप्रतिनिधिहरु लगायत सहयोगीहरुप्रति पनि धन्यवाद दिएका छन् ।

– व्यक्ति—ब्यक्तिका बीचको दुरी कायम गर्न,
– अनिवार्य मास्कको प्रयोग गरिदिनुहुन,
– पटक पटक साबुनपानीले हात धोइरहन वा स्यानीटाइजरले हात सफा गरिरहन,
– भीडभाड नगर्न वा भीडमा उपस्थित नहुन,
– सकेसम्म आफ्नै घरमा रहन वा आफ्नै खेतीपातिका काममा समय बिताउनुहुन,
– काठमाण्डौ लगायत अन्य जिल्लाहरुको आवत जावतलाई रोक्न र आवत जावत गर्नै परे आइसके पछि
छुट्टै सुरक्षित भै बसीदिनुहुन,
– छिमेकका संक्रमितहरु र संक्रमितका परिवारलाई न्युनतम दुरीमा रही आवस्यक मानवीय सहयोग उपलब्ध गराउँदै हौसला प्रदान गरिरहन,
– स्थानीय पालिकाहरु, कोरोना संकट व्यवस्थापन समिति र सुरक्षा निकायहरुको सल्लाह र निर्देशन आदिको पालना गरिदिनुहुन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्