खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैङ्कलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौँ,कात्तिक ३० । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ ।
नेपाल बैङ्क लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै अर्थमन्त्री वाग्लेले अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गर्नुभयो । उहाँले बैङ्कले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैङ्किङ सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री वाग्लेले सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको तीनबुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्न, बैङ्कको कामकारबाही पारदर्शी बनाउन, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्क सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।
उहाँले डिजिटल बैङ्किङ विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्र प्रवर्द्धन र वित्तीय साक्षरता अभिवृद्धिमा बैङ्कले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैङ्किङ इतिहासको सुरुआत गरेको यस संस्थाले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन, पुँजी निर्माण तथा औद्योगिक र व्यापार व्यवसायको विस्तारमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो ।
उहाँका अनुसार बैङ्कको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ भने ग्राहक सङ्ख्या २९ लाख २४ हजार पुगेको छ ।
बैङ्कमा तीन हजार ६०० कर्मचारी कार्यरत छन् । देशका ७१ जिल्लामा शाखा विस्तार गरेको बैङ्कका २५० वटा एटिएम सञ्चालनमा छन् भने मोबाइल बैङ्किङका ग्राहक सङ्ख्या १० लाख पुगेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिनुभयो ।

