नेपालमा सुरक्षा निकायका १ हजार ६ सयमा कोरोना संक्रमण



काठमाडौं भदौ १२ । कोभिड–१९ बाट नेपालमा सुरक्षाकर्मीहरु १ हजार ६ भन्दा बढी संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार ६३३ जनामा सङ्क्रमण्मा देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् । सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसपछि सङ्क्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ । सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमित भेटिएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन् । पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनले बताए ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी सङ्क्रमित भएका छन् । त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए ।

नेपाली सेनामा आजसम्म ४०३ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी सङ्क्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्