नेपाल संवत् ११४७ को स्वागतमा पोखरामा भिन्तुना र्याली
पोखरा, कात्तिक २४ । नेपाली मौलिक संवत् नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा पोखरामा भिन्तुना र्याली निकालिएको छ । नेवारी कला, संस्कृति, भेषभूषा र परम्परा झल्कने विभिन्न सांस्कृतिक झाँकीसहित निकालिएको र्यालीमा नेवारी समुदायका विभिन्न सङ्घसंस्था तथा सबै उमेर समूहका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
नेपाल संवत्को नयाँ वर्षको स्वागत तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै आयोजना गरिएको र्याली पोखरा नयाँबजारस्थित प्रदेश सङ्ग्रहालयको प्रवेशद्वारबाट सुरु भएको थियो । र्याली नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा र सिद्धार्थचोक हुँदै नेवा छेँ भवनमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।
परम्परागत नेवारी पोशाकमा सजिएका सहभागीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति र झाँकीसहित नगर परिक्रमा गरेका थिए । र्यालीमा नेवारी समुदायका साथै अन्य समुदायका व्यक्तिहरूको समेत सहभागिता रहेको नेवा खल कास्कीका अध्यक्ष असोक पालिखेले बताउनुभयो । पोखरामा लामो समयदेखि नेपाल संवत् मनाउँदै आएको उल्लेख गर्दै उहाँले यस संवत्लाई सबैले अपनत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको औपचारिक उद्घाटन पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले गर्नुभएको थियो । र्यालीमा सहभागी हुँदै उहाँले नेपाल संवत् नेवारी समुदायको मात्र नभई समग्र नेपालीको साझा सम्पत्ति र पहिचानका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाल संवत्ले नेपालको मौलिक इतिहास, संस्कृति र सभ्यतालाई प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा सबै समुदायको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
उपप्रमुख गुरुङले नेपाल संवत् ११४७ तथा तिहार पर्वको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देउसीभैलो खेल्दा तथा पर्व मनाउँदा आवश्यक मापदण्ड र सुरक्षा उपाय पालना गर्न आग्रह गर्नुभयो ।
र्यालीमा नेवाः खलः, कचाः खलः, ल्याम्ह पुचः, मिसा पुचः लगायतका विभिन्न सङ्घसंस्था, सामाजिक तथा सांस्कृतिक समूहका प्रतिनिधि, ज्येष्ठ नागरिक, युवा तथा बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो । परम्परागत पोशाकमा सजिएका सहभागीहरूको उपस्थितिले पोखराका सडकमा नेवारी मौलिकता र सांस्कृतिक विविधताको आकर्षक दृश्य प्रस्तुत गरेको थियो ।
नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको नेपालको मौलिक संवत् हो । नेपाल सरकारले विसं २०६५ मा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल संवत्को नयाँ वर्षमा नेवार समुदायले नयाँ वर्षको स्वागत गर्नुका साथै म्हः पूजा अर्थात् आत्मपूजा गर्ने परम्परा पनि रहिआएको छ ।
पोखरामा निकालिएको भिन्तुना र्यालीले नेवारी मौलिक कला, संस्कृति र परम्पराको पुस्तान्तरणसँगै विभिन्न जातजाति तथा समुदायबीच सामाजिक सद्भाव, सहअस्तित्व र सांस्कृतिक एकताको सन्देश प्रवाह गरेको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो ।

