नेपाल संवत्ले एकता, सद्भाव र समृद्धिको भावना बलियो बनाउँछ : गगन थापा
काठमाडौँ,कात्तिक २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाल संवत् नेपालको मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक भएको बताउनुभएको हो ।
उहाँले नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, उत्साह, सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल संवत्ले लोककल्याणकारी र परोपकारको प्रेरणादायी विरासत बोकेको उल्लेख गर्दै सभापति थापाले यस अवसरले नेपालीबीचको आपसी सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउने अपेक्षा व्यक्त गर्नुभएको छ ।
यसैगरी, म्हः पूजाको पावन अवसरमा सबैमा आत्मसम्मान, सकारात्मक ऊर्जा, सुस्वास्थ्य र आत्मविश्वासको कामना गर्दै उहाँले सांस्कृतिक विविधता र एकताको भावनालाई थप बलियो बनाउन नेपाल संवत्को नयाँ वर्षले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

