देशभरका ७१ जना पत्रकारमा कोरोना संक्रमण



काठमाडौं भदौ १२ ।

कोरोना महामारी देशव्यापी बनेसँगै पत्रकार पनि संक्रमित हुने क्रम बढेको छ ।

शुक्रबारसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिमबाहेक बाँकी ६ वटा प्रदेशका ७१ जना सञ्चारकर्मी संक्रमित भएको उल्लेख छ ।

संक्रमित हुनेमा प्रदेश १ का १३ जना पत्रकार छन् । त्यसमध्ये मोरङ जिल्लाका मात्र १२ जना र अर्का एकजना उदयपुरका हुन् । प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । त्यसमा पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एकजना रहेको महासंघले जनाएको छ ।

बागमती प्रदेशमा काठमाडौंका नौ र ललितपुरका दुई गरी ११ जना पत्रकार संक्रमित भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा नवलपुरका सात र कास्कीका एक गरी आठजना पत्रकार संक्रमित भएका छन् ।

प्रदेश ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका ६ र रुपन्देहीका दुईजना संक्रमित भएको महासंघले जारी गरको विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशको दैलेख जिल्लाका एकजना संक्रमित भएका छन् । संक्रमितमध्ये केही निको भएको र केही उपचारकै क्रममा रहेको महासंघले जनाएको छ ।

संक्रमणको विषम परिस्थितिमा अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय भएको उल्लेख गर्दै फिल्डमा खटिने सञ्चारकर्मीहरूको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्न महासंघले सरकारसँग माग गरेको छ । महासंघले स्वास्थ्य सुरक्षाका सबै उपायहरू अवलम्बन गर्दै काम गर्न आमपत्रकार र सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्