जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल सूचना बोर्ड जडान



साझापथ संवाददाता

नुवाकोट,भदौ २२ । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल सूचना बोर्ड जडान गरिएको छ। १७ औं निजामती दिवसको अवसरमा स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन भन्ने मूल नाराका साथ डिजिटल सूचना जडान गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

बोर्ड जडानपछि जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा तथा कार्यक्रम सेवाग्राहीले सजिलै जानकारी पाउनेछन। १४.२ फिटको रहेको सो बोर्डमा मिति, समय, तापक्रम, जिल्लामा सरकारी निकायबाट हुने प्रमुख कार्यक्रमहरू, जिल्ला भित्र कुनै स्थानमा विपदका घटना भएमा, भ्रष्टचार लगायतका अन्य कुनै विषयमा गुनासो भएमा जानकारी दिने सम्पर्क नम्बर, सूचना अधिकारीको नाम र सम्पर्क नम्बर, राहदानी तयार भई आएको विवरण, द्रुत राहदानी सिफारिसको लागि आवश्यक फाराम जिल्ला प्रशासनको राहदानी शाखाबाट निःशुल्क उपलब्ध गराइने विषय, स्थानीय तहबाट सिफारिस भै आएको कुनै पनि कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गर्दा निवेदन दिइरहनु नपर्ने विषय सहित जिल्ला प्रशासन कार्यालय नुवाकोटको वेवसाइट, इमेल ठेगाना लगायतका सूचना राखिएको छ ।

प्रविधि तथा जनमैत्री प्रशासनतर्फ यात्राको क्रममा डिजीटल हाजिरी, डिजिटल नागरिक बडापत्र, सिसि क्यामरा अनि सेवा ग्राही जनसमुदायका लागि निःशुल्क फोटोकपी सेवा पश्चात् डिजीटल नोटिस बोर्ड र निजी क्षेत्रका उत्तम अभ्यास सार्वजनिक क्षेत्रमा अवलम्वन गर्ने प्रयास गरिएको प्रजिअ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्