१ हजार ४३१ किलोको विशाल फर्सीले तोड्न सक्छ विश्व कीर्तिमान



अमेरिका,कात्तिक ६ । अमेरिकाको रोड आइल्यान्डमा उत्पादन गरिएको एक हजार ४३१ किलोग्राम तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ।

उत्पादक रोन वालेसले न्यु इङ्गल्यान्डमा आयोजित प्रतियोगितामा आफ्नो फर्सीको तौल गराएका थिए। तीन हजार १५६ पाउन्ड तौल रहेको उक्त फर्सी हाल कायम विश्व कीर्तिमानभन्दा करिब १३६ किलोग्राम भारी छ। यद्यपि, यसको कीर्तिमान औपचारिक रूपमा पुष्टि हुन बाँकी छ।

वालेसका अनुसार विश्व कीर्तिमान प्रमाणित गर्ने प्रक्रियाका लागि गिनिज वर्ल्ड रेकर्ड्सका अधिकारीसँग सम्पर्क भइरहेको छ। विशाल फर्सी उत्पादन गर्न पाउँदा आफू निकै खुसी भएको उनले बताएका छन्।

गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार हाल बेलायतको लिमिङटनका इयान प्याटनले उत्पादन गरेको एक हजार २९६ किलोग्राम तौलको फर्सी विश्वकै सबैभन्दा भारी फर्सीका रूपमा सूचीकृत छ। प्याटनले गत अक्टोबरमा उक्त कीर्तिमान बनाएका थिए।

वालेसले यस वर्ष पहिलोपटक हरितगृहमा फर्सी उत्पादन गरेका थिए। नियन्त्रित वातावरणले फर्सीको आकार बढाउन महत्त्वपूर्ण सहयोग गरेको उनको भनाइ छ। विशाल फर्सी उत्पादन गर्न समुदायको सहयोग र सामूहिक प्रयास आवश्यक हुने उनले बताए।

स्थानीय प्रतियोगितामा वालेसले तीन हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्। अन्य केही प्रतियोगिताले ७० हजार डलरसम्म पुरस्कार दिने प्रस्ताव गरे पनि आफ्नो गृहनगरका मानिसको साथ र समर्थन बढी महत्त्वपूर्ण रहेको उनले बताएका छन्।

यसैबीच, उत्तरी क्यालिफोर्नियाको हाफ मुन बेमा आयोजित ५३औँ विश्व च्याम्पियनसिप फर्सी तौल प्रतियोगितामा मिनेसोटाका बागवानी शिक्षक ट्राभिस गिएङ्गरले लगातार पाँचौँपटक उपाधि जितेका छन्।

उनले उत्पादन गरेको ‘रकी’ नामको फर्सीको तौल दुई हजार ३८९ पाउन्ड अर्थात् करिब एक हजार ८३ किलोग्राम रहेको थियो। उपाधिसँगै उनले २१ हजार ५०१ अमेरिकी डलर पुरस्कार प्राप्त गरे।

गिएङ्गरले आफ्नो फर्सीलाई मिनेसोटाबाट क्यालिफोर्नियासम्म ३५ घण्टा गाडी चलाएर प्रतियोगितामा ल्याएका थिए। गत वर्ष फर्सी फुटेपछि प्रतियोगितामा सहभागी हुन नसकेका उनले यस वर्ष पुनरागमन गर्ने लक्ष्यसहित त्यसको नाम ‘रकी’ राखेका थिए।

प्रतियोगितामा फर्सीको प्रतिपाउन्ड नौ अमेरिकी डलरका दरले पुरस्कार रकम गणना गरिएको थियो। विजयी फर्सीलाई यसै सप्ताहान्तमा हाफ मुन बेका सडकमा निकालिने परेडमा प्रदर्शन गरिनेछ।

यस्ता विशाल फर्सी स्वादभन्दा आकारका लागि बढी उपयुक्त हुने भएकाले प्रतियोगितापछि त्यसबाट बनाइने विशाल पाई भने खान पाइने छैन।

प्रतिक्रिया दिनुहोस्