साउदी अरबमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त
काठमाडौं,कात्तिक ६ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आज विज्ञप्ति जारी गर्दै दिवङ्गत नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।
विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको उल्लेख गर्दै एमालेले घटनाको निन्दा गरेको छ। साथै, विश्व शान्तिको पक्षमा आफूहरू सधैँ प्रतिबद्ध रहेको जनाएको छ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ। पार्टीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सुरक्षा र हित सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

