भोटेकोशी बाढी प्रभावितको अवस्था बुझ्न आश्रयस्थलमा पुगे उच्च अधिकारी



नुवाकोट,कात्तिक ६ । भोटेकोशी बाढीबाट प्रभावितहरूको अवस्था बुझ्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी र अन्तर्राष्ट्रिय रेडक्रस महासंघका उच्च अधिकारीसहितको टोलीले शुक्रबार नुवाकोटको विदुर नगरपालिका–५ मा रहेका विभिन्न आश्रयस्थलको अवलोकन गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष डा. विशालकुमार भण्डारी, अन्तर्राष्ट्रिय रेडक्रस महासंघका नेपाल प्रमुख डेभिड फिसर, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत सुरक्षा निकायका प्रमुखहरू अवलोकनमा सहभागी भएका थिए।

अवलोकनका क्रममा टोलीले बाढी प्रभावितहरूको पछिल्लो अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा आश्रयस्थलमा उपलब्ध सेवा–सुविधाबारे जानकारी लिएको नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति हरि श्रेष्ठले जानकारी दिए।

बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्नुका साथै उनीहरूलाई उपलब्ध गराइँदै आएको उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको अवलोकनलाई महत्त्वपूर्ण रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्