डोटीमा जिप दुर्घटना हुँदा १२ घाइते, २ को अवस्था चिन्ताजनक



डोटी भदौ २६ । पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा शक्रबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । उनका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्