घोप्टेभिरमा सडक पूर्ण रूपमा सञ्चालन, नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने
चितवन,मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा शनिबार साँझ ५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ।
गत मङ्सिर ५ गतेदेखि दिउँसोको समयमा सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहिरो प्रभावित क्षेत्रमा पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने र सडक सम्याउने काम सम्पन्न भएपछि यातायात सहज भएको हो।
घोप्टेभिरमा सडक व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउन प्रहरी टोली निरन्तर खटिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले सवारी आवागमन व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित जोखिम न्यूनीकरणमा प्रहरी सक्रिय रहेको बताउनुभयो।
घोप्टेभिरमा सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गको मुग्लिन–पोखरा तथा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएका छन्।
यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड भने आज मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइनखोलामा पहिरो काट्ने तथा जोखिमयुक्त भाग हटाउने काम गर्नुपर्ने भएकाले प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ।
सडक बन्द हुँदा दिउँसोको समयमा चितवनबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने यात्रु प्रभावित हुने भएका छन्।

