शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाउन मन्त्री लम्सालको निर्देशन



चितवन,मंसिर १३ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।

शनिबार औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगति र निर्माण प्रक्रियाबारे जानकारी लिनुभएको थियो। उहाँले अन्तरमन्त्रालय समन्वय गरी औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुसार विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो। चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने योजना रहेको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

औद्योगिक क्षेत्र सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ। उद्योग स्थापना गर्न इच्छुक उद्योगीले विगत आठ वर्षदेखि जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्। चितवन उद्योग सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ।

यसैबीच, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको पनि अवलोकन गर्नुभएको थियो। उहाँले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो।

प्रदर्शनी केन्द्रको निर्माणका लागि विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शक्तिखोर औद्योगिक क्षेत्र र चितवन प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए जिल्लाको औद्योगिक तथा व्यावसायिक गतिविधि थप विस्तार हुनुका साथै रोजगारी र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्