नुवाकोटको सिसिपु पहिरो पीडितलाई ११४ थान टेण्ट वितरण



आवासका लागि लगिएको १३४ थान टेण्ट

नुवाकोट, भदौ २७ । दुप्चेश्वर गाउँपालिका वडा नं. १ सिसिपुमा हालैको वर्षापछि आएको पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न ११४ थान टेन्ट वितरण गरिएको छ ।

बिहीबार राति काठमाडौंबाट नुवाकोट आइपुगेको टेन्ट जिल्ला प्रशासन कार्यालयबाट दुप्चेश्वरतर्फ पठाइएको थियो भने शुक्रबार बिहान सिसिपु पुर्‍याई पीडितलाई वितरण गरिएको हो । राहत र आवश्यक साम्रगी संघीय सांसद हितबहादुर तामाङ,प्रदेशका उपसभामुख राधिका तामाङ,प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले संयुक्तरुपमा पिडितलाई हस्तान्तरण गरेका हुन।

टेण्ट वितरण कार्यक्रममा सहभागी सांसद तथा स्थानीय प्रतिनिधि

राहत वितरण कार्यक्रममा बोल्दै संघीय सांसद हितबहादुर तामाङले अब नेगी र सिसिपुका जोखिममा परी विस्थापित परिवारलाई तत्कालका लागि खाद्यान्न व्यवस्था गर्न पहल गर्ने बताउनुभयो। सांसद तामाङले खाद्यान्नका साथै सुरक्षित बासस्थानको ब्यवस्थापनका लागि आवस्यक छलफल अगाडि बढिसकेको बताए। सांसद तामाङले भने-‘खानी तथा भूगर्व विभागबाट विगतमा नै असुरक्षित पुष्टि भैसकेको क्षेत्रबाट बस्ती हटाई स्थानीयको राजीखुशीमा बस्ती बसाउन आवश्यक पहल गरिनेछ ।’

सांसद तामाङको पहलमा यसअघि घ्याङफेदीको नेगी बस्तीका २९ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । नेगी बस्तीमाथि ठूलो ढुंगा सरेको र त्यो ढुंगा झरेमा ठूलो जनधनको क्षति हुने भन्दै ती घर परिवारलाई सारिएको हो ।

आवासका लागि टेण्ट लिन उपस्थित स्थानीय

प्रदेश सांसदको टोली स्थलगत निरीक्षणमा

प्रदेश सांसदको टोली समेत स्थलगत निरीक्षण तथा राहत वितरण गर्न प्रभावित क्षेत्रमा पुगेका छन् । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले राहत वितरण कार्यक्रम बोल्दै नुवाकोटको कर्णालीका रुपमा आफूले घ्याङफेदीलाई लिने गरेको बताए। तत्काल राहत स्वरुप आवासका लागि वितरण भएको टेण्टका साथै वस्ती सार्नका लागि आवश्यक पुर्वाधार समायोजनका लागि भने प्रदेश सरकारले २० लाख प्रदान गर्ने बताइन्। त्यस्तै प्रदेशका सामाजिक मन्त्री युवराज दुलालले मानव जीवनको प्रमुख आवस्यकता गाँस बास र कपास भएकाले पहिरो पीडित स्थानीयलाई तत्काल सुरक्षित स्थानमा ब्यवस्थापनका लागि आवश्यक पहल गरिने बताए। मन्त्री दुलालले भने-‘पहिरो तथा विपत्ति जतिसुकै बेला जोकोहिलाई पर्न सक्छ। त्यस्का लागि हामी सबै सजग र सहयोगी बनेर बस्नु आवश्यक छ,जुन प्रदेश सरकारले पहल गर्नेछ।’

स्थलगत निरीक्षण तथा राहत वितरणका लागि सांसद टोली

टोलीमा जिल्ला समन्वय समितिका सन्तमान तामाङ,उच्च पदस्थ व्यक्तिहरु, विभिन्न दलका प्रतिनिधि, नेकपाका नेता र केही सञ्‍चारकर्मीसमेत सहभागी छन् ।त्यस्तै गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङ,उपाध्यक्ष अन्जु आचार्य लगायतको उपस्थिति रहेको थियो ।

२०७२ मै सार्न भनिएको थियो बस्ती

तस्बिरमा जोखिम युक्त क्षेत्र सिसिपु

२०७२ सालको महाभूकम्पपश्चात् खानी तथा भूगर्भ विभाग, लैनचौर, काठमाडौंद्वारा जुलाई २०१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिंहदरबार काठमाडौंमा पेस भएको “A Report on Geological Assessment of Earthquake Affected Settlement Area, Nuwakot District ” को प्रतिवेदनको बुँदा नं.८.३.४ अनुसार साविक घ्याङफेदी गाउँ विकास समिति वडा नं ६ (हाल दुप्चेश्वर गाउँपालिका वडा नं. १ सिसिपु)मा रहेको बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्ने उल्लेख भएको व्यहोरा अनुरोध छ । प्रतिवेदनमा बस्तीभन्दा माथि धेरै संख्यामा ढुंगाहरु अस्थिर अवस्थामा रहेको, स्थानीय बासिन्दाहरुको भनाइअनुसार उक्त बस्ती र खेतीयोग्य जमीनमा चिरा परेको, बस्ती दबिएको देखिएको, ६ वटा घरहरु पहिरोको टुप्पोमा रहेको, निरीक्षणकै क्रममा पार्टेन डाँडामा २०-३० सेन्टीमिटर गहिरो र १५ मिटर चौडाइका चिराहरु स्पष्ट रुपमा देखिएको, सिसिपु गाउँको उत्तरपट्टी भर्खरै पहिरो गएको देखिएको र स्थानीय बासिन्दाका अनुसार सो गाउँमा पानीको मुहान समेत सुकेकोले उक्त जोखिमयुक्त बस्तीका २८ घरपरिवारलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने व्यहोराको सिफारिस समेत प्रतिवेदनमा उल्लेख भएको छ ।

विगत ४/५ दिनदेखि परेको अविरल वर्षादका सँगै उक्त स्थानमा आएको पहिरोका कारण गाउँ उच्च जोखिममा परेपछि नेपाल प्रहरीसमेत सम्बद्ध स्थानीय तहका जनप्रतिनिधिको टोली भाद्र २३ गतेका दिन जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षणका लागि गएको थियो । स्थलगत निरीक्षण क्रममा निरन्तरको वर्षात्को कारण झरिरहेको पहिरोले केही घरहरुमा क्षति पुर्‍याइसकेको र गाउँभन्दा माथि पहिरो आइसकेकोले कुनै पनि बेला सो पहिरो झरी सिसिपु गाउँमा आउने सक्ने र त्यसबाट जनधनको क्षति हुन सक्ने देखिएको अनुमान लगाएका थिए ।

पुस्तौंदेखि को आफ्नो थलोको विपत्तिमा स्थानीय दुखित मुद्रामा

जिल्ला सदरमुकाम विदुरबाट ७७ कि.मि.पूर्व उत्तर पर्ने उक्त स्थानमा पहिरो आई जोखिममा रहेको भन्ने खवर बिहान १०:०० बजेको समयमा प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटि गई बुझ्दा सो स्थानमा हाल ११४ घरधुरी रहेको, ती मध्ये ५५ घरपिरवार (प्रभावित जनसंख्या ३०० जना ) उच्च जोखिममा रहेको, ५९ घर परिवार (प्रभावित जनसंख्या ४०० महिला, २०० पुरुष २०० गरी ६००) जोखिममा रहेको देखिएको छ । प्रारम्भिक जानकारी अनुसार सो स्थानका आईतबिर तामाङको गाई र गाईको बाच्छो पहिरोमा पुरिएको अ.२० हजार ००० बरार क्षति भएको प्रजिअ ढकालले बताए ।

प्रभावित डाटाको विषयमा प्रहरी प्रशासनसंग छलफल गर्दै गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्य

प्रतिक्रिया दिनुहोस्