चैतभित्रै यो शैक्षिकसत्र सकिने



काठमाडौं,भदौ ३१ । आगामी सात महिनाभित्र विद्यालय तहमा शैक्षिक सत्र पूरा गर्ने गरी सरकारले तयारी थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा मंगलबार सार्वजनिक गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ मा यही चैतभित्रै शैक्षिक सत्र समाप्त हुने उल्लेख छ । पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने प्रचलित मान्यतासमेत तोडेको छ । अब कोभिड–१९ का कारण विद्यालय बन्द भए पनि वैशाखबाटै शैक्षिक सत्र गणना हुने भएको छ ।राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकंन परिषद्को बैठकले सो ढाँचा स्वीकृत गरेको हो । हाल विद्यालय तहमा ७० लाख विद्यार्थी अध्ययनरत छन् ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले आगामी सात महिनाभित्रै यो वर्षको पठनपाठन पूरा हुने बताए । उनले संश्लेषित पाठ्यक्रमका आधारमा अब बाँकी रहेको सात महिनाभित्र नै शैक्षिक सत्र पूरा हुने बताए । शिक्षा मन्त्रालयले वैकल्पिक सिकाइलाई मान्यता दिएको केही दिनमै संश्लेषित पाठ्यक्रम सार्वजनिक गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखदेखि सहज तरिकाले पठनपाठन हुन सकेको थिएन । गत १९ भदौमा शिक्षामन्त्री पोखरेलले कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा परेको असरलाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम संश्लेषण गर्दै वैकल्पिक सिकाइलाई मान्यता दिने निर्णय गरेको सार्वजनिक गरेका थिए ।

संश्लेषित पाठ्यक्रमअनुसार विद्यार्थीले आफैं पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्ने योजना बनाइएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको सिकाइलाई निरन्तरता दिने र पाठ्यक्रमका पाठ्यवस्तु समायोजन हुँदा प्रयोग गर्न सकिने सिकाइ सहजीकरण विधि र सिकाइ उपलब्धिको मूल्यांकनका उपाय सुझाउने उद्देश्यले पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ तयार गरिएको जानकारी दिए । उनले विद्यार्थीको सिकाइको मूल्यांकन प्रमाणका आधारमा गर्नुपर्ने मान्यताको ढाँचा निर्माण भएको बताए ।

पाठ्यवस्तु समायोजनका लागि एकीकरण, समूहीकरण र प्राथमिकीकरण सिद्धान्तलाई अवलम्बन गरिएको छ । जसअनुसार तहगत र विषयगत रूपमा प्रत्यक्ष वा वैकल्पिक विधिबाट शिक्षकले सहजीकरण गर्ने पाठ्यवस्तु र शिक्षकको निर्देशनमा वैकल्पिक विधि वा अन्य व्यक्तिको सहयोगबाट सहजीकरण गरिने पाठ्यवस्तु छुट्याउने आधारसहित नमुना ढाँचा प्रस्तुत गरिएको छ ।

विद्यालयले घरलाई शिक्षालय, रेडियो पाठशाला, टेलिभिजन शिक्षामा, भर्चुअल माध्यमका लागि सिकाइ सहजीकरण र मूल्यांकन योजना बनाउन सक्ने गरी विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समिति रहने व्यवस्था गरिएको छ ।

शिक्षकले आन्तरिक र आवधिक मूल्यांकन गर्दा विद्यार्थीको लिखित कार्य, मौखिक कार्य, प्रयोगात्मक कार्य, परियोजना कार्य, पोर्टफोलियो व्यवस्थापन, अन्तर्वार्ता आदि जुनसुकै प्रक्रिया अपनाए पनि विद्यार्थीको सहभागितामा गरिएको हुनुपर्ने ढाँचा तयार पारिएको छ । विद्यार्थीको मूल्यांकन र श्रेणीकरणका लागि प्रयोग गरिएका सबै साधन सुरक्षित राख्नुपर्ने पाठ्यवस्तु समायोजन ढाँचा २०७७ मा उल्लेख छ । शिक्षामन्त्री पोखरेलले भने, ‘यो फाठ्यक्रम ढाँचालाई अनुसरण गरी स्थानीय परिवेशअनुकूल सिकाइलाई निरन्तरता दिई बालबालिकाको पढ्न पाउने हकलाई सुनिश्चित गर्दै शैक्षिक क्षति हुनबाट जोगाउन म समस्त सरोकारवालामा विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्