नुवाकोटसहित विभिन्न जिल्लामा चार दिन भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह



नुवाकोट,कात्तिक ९ । बंगालको खाडीमा विकसित चक्रवात र पश्चिमी वायुको प्रभावले आगामी कात्तिक ११ देखि १४ गतेसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले नुवाकोट प्रशासनले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सोमबार सूचना जारी गर्दै कात्तिक ११ गते बुधबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। उच्च पहाडी भूभागमा हिमपातको समेत सम्भावना रहेकाले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सतर्क रहन प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले किसानलाई धान काट्ने र भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सुरक्षित रूपमा सम्पन्न गर्न आग्रह गरेको छ। त्रिशूली, तादी, लिखु र फलाखुलगायत नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी किनारमा नजान र विशेष सावधानी अपनाउन पनि भनिएको छ।

वर्षाका कारण पासाङल्हामु राजमार्ग, गल्छी–त्रिशूली–बेत्रावती सडक, छहरे–टोखा सडक तथा ग्रामीण क्षेत्रका कच्ची सडकमा पहिरो जाने, हिलो थुप्रिने र यातायात अवरुद्ध हुन सक्ने प्रशासनले जनाएको छ। अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपरे मौसमको अवस्था बुझेर मात्र अघि बढ्न आग्रह गरिएको छ।

बाढी, पहिरो तथा डुबानको जोखिम देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले अनुरोध गरेको छ। विद्यालय आउजाउ गर्ने विद्यार्थीको सुरक्षामा विशेष ध्यान दिन विद्यालयहरूलाई पनि सचेत गराइएको छ। मौसम सफा नभएसम्म जिल्लाका उच्च पहाडी क्षेत्रमा पदयात्रा नगर्न र नगराउनसमेत भनिएको छ।

कुनै पनि विपद्जन्य घटना वा दुर्घटना भएमा तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्थानीय प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

विपद्का बेला नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको ९८५१२८२३८० नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ। जिल्ला प्रशासन कार्यालयका ९८५११४७७७७ र ९८५१२४८७७७ नम्बरमा पनि सम्पर्क गर्न सकिनेछ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जारी गरेको उक्त सूचना कात्तिक ९ गते सोमबार सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्