ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर स्वदेश फर्किइन् पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं,कात्तिक ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले फोरममा सहभागी भएर फर्किएको जानकारी दिएकी हुन्।

अक्टोबर २३ देखि २५ सम्म आयोजित सम्मेलनमा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्। ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ मूल नारा रहेको सम्मेलनमा अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक सञ्चालन भएका थिए।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, शान्ति स्थापनाका लागि आवश्यक सुधार तथा बहुपक्षीयताको प्रवर्द्धनबारे छलफल भएको थियो। साथै, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका र अन्तर्राष्ट्रिय व्यापारमा विश्व दक्षिणका मुलुकको उपस्थितिबारे पनि विमर्श गरिएको थियो।

सम्मेलनमा जलवायु परिवर्तन, हरित अर्थतन्त्र, न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर क्षेत्रजस्ता समसामयिक विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्