कात्तिक १७ र १८ गते देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं,कात्तिक ९ । सरकारले कात्तिक १७ र १८ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार कार्यक्रमका लागि आवश्यक औषधि देशभरका ७५३ वटै स्थानीय तहमा पठाइएको छ। औषधि वितरण तथा कार्यक्रमको व्यवस्थापनका लागि करिब ५१ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ।
स्थानीय तहले विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक स्थानमा वितरण केन्द्र निर्धारण गर्नेछन्। बालबालिकाको सङ्ख्याका आधारमा औषधि पठाइएको भए पनि बसाइँसराइ तथा सहरी क्षेत्रमा बालबालिकाको वास्तविक सङ्ख्या यकिन गर्न कठिन हुने भएकाले आवश्यकताभन्दा केही बढी भिटामिन ‘ए’ को व्यवस्था गरिएको थापाले बताए।
निर्धारित दुई दिनमा औषधि खुवाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराइने व्यवस्था पनि मिलाइएको छ। त्यसैले अभिभावकले आफ्ना बालबालिकाको उमेरअनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नजिकको वितरण केन्द्रमा लैजान सरकारले आग्रह गरेको छ।
कार्यक्रमको मुख्य उद्देश्य बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिनु, आँखाको स्वास्थ्य जोगाउनु र कुपोषणसँग सम्बन्धित समस्याको जोखिम घटाउनु हो। भिटामिन ‘ए’ को कमीले रतन्धोजस्ता समस्या निम्त्याउन सक्ने भएकाले पाँच वर्षमुनिका बालबालिकालाई नियमित रूपमा यो औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ।
विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार नेपालमा पनि पाँच वर्षमुनिका बालबालिकालाई वर्षमा दुई पटक भिटामिन ‘ए’ खुवाउने गरिएको छ।
यसैबीच, सरकारले विभिन्न उमेर समूहका व्यक्तिमा सूक्ष्म पोषण तत्त्वको अवस्था पत्ता लगाउन राष्ट्रियस्तरको सर्वेक्षण गर्ने तयारी गरेको छ। सर्वेक्षणमा भिटामिन ‘ए’, आइरन, आयोडिन, जिंक तथा भिटामिन बी–१२ लगायतका पोषण तत्त्वको अवस्थाबारे रगत र पिसाब परीक्षणमार्फत अध्ययन गरिनेछ।
सर्वेक्षणबाट प्राप्त नतिजाले आगामी दिनमा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न तथा नीतिगत निर्णय लिन सहयोग पुग्ने पोषण शाखा प्रमुख थापाले बताए।

