एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट



काठमाडौं,कात्तिक ९ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै समेटिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको हो। यससँगै साविक विजेता लुम्बिनी लायन्सले जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा सर्वाधिक २७ रन बनाए। ओपनर सैफ जैबले १४ बलमा १३ रन जोडे। यी दुईबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

लुम्बिनीका तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै चार ओभरमा २८ रन खर्चेर चार विकेट लिए। शेर मल्लले तीन विकेट हात पारे। कप्तान रोहितकुमार पौडेल, श्याडली भान शाल्क्विक र तिलक भण्डारीले एक–एक विकेट लिए।

यसै खेलमा सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइन एनपीएल इतिहासमा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) मार्फत आउट हुने खेलाडी बने। उनी शेर मल्लको बलमा नौ ओभर दुई बलपछि अर्थात् ९.४ ओभरमा एलबीडब्लू आउट भएका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज गरी आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

तेस्रो संस्करणमा प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ। विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। यसअघिका पहिलो र दोस्रो संस्करणका विजेताले एक करोड रुपैयाँ प्राप्त गरेका थिए।

यस संस्करणमा प्रायोजन, टिकट बिक्री र प्रसारण अधिकारबाट आम्दानी उल्लेख्य बढ्ने क्यानको अपेक्षा छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताबाट कुल एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। प्रायोजनबाट २० करोड तथा टिकट बिक्री र प्रसारण अधिकारबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्