प्याजमा कालोबजारी गर्नेहरु धमाधम पक्राउ पर्दै , १०० क्वीन्टल बढी प्याज बरामद



काठमाडौं असोज १ ।

देशैभरबाट प्याजमा कालोबजारी गरेर कृत्रिम अभाव सिर्जना गराई ठगी गर्नेहरु धमाधम पक्राउन पर्न थालेका छन् । सिरहा, चितवन, काठमाडौं लगायतका क्षेत्रबाट कालाबजारियाहरुलाई अनुगमनबाट पक्राउ गरिएको हो ।

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तिनकुनेस्थित हरितगृह तरकारी बजारबाट विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरिएको हो । बरामद ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ ।

यस्तै सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई पनि समितिले कारबाहीका लागि सिफारिस गरेको छ ।

अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ । सोमबारबाट भारतले प्याज निर्यात बन्द गरेपछि नेपाली बजारमा प्याजको भाउ चुलिएको छ भने काला बजारियाहरु सल्बलाउन थालेका छन ।

बुधबार मात्र आपूर्ति मन्त्री लेखराज भट्टले कालीमाटी तरकारी बजार अनुगमन गरी एक मारुती भ्यानसहित प्याजमा महंगो मूल्य लिई उपभोक्ता ठगी गर्नेहरुमाथि कारवाही गरेका छन् । यस्तै बुधबार सिरहामा अनुगमन टोलीले ७ हजार ४४० केजीसहित संचालकहरुलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरीले जनाएको छ ।

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका पसल तथा गोदाममा प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट खटेको टोलीले बिक्री वितरणको लागि राखेको प्याजसहित पसल तथा गोदामबाट तीनजना संचालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोलबजारमा रहेको जय लक्ष्मी सब्जी भण्डार पसल तथा गोदामका सञ्चालक मिर्चैया नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया स्थित रहेको जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान स्थित गंगा ट्रेडर्सका संचालक रामनारायण नायकलाई प्रहरीले नियन्त्रणमा लिई गोदाम सिल समेत गरेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्