हिमपातमा २७ दिन बिताएका ३०७ पशु जीवितै भेटिए, लिमीवासीमा खुसी



हुम्ला,कात्तिक ६ । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ वटा पशु जीवितै फेला परेका छन्। चरनका लागि लगिएका चौँरीगाई, घोडा र झोपासहितका पशु २७ दिनपछि लाप्चा क्षेत्रको साँक्या खोलामा सकुशल भेटिएका हुन्।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयवासीको टोली खोजीमा जाँदा हिउँमा उभिएको अवस्थामा ती पशु फेला परेका हुन्। बेपत्ता पशुको खोजीका लागि चारवटा समूह बनाएर परिचालन गरिएको थियो। फेला परेका पशुलाई तुम्लिङमा सुरक्षित ल्याइएको वडाध्यक्ष तामाङले बताउनुभयो।

गत असोज १० र ११ गते परेको भारी हिमपातपछि ग्याउ खोला र लिङ खोलाका पाटनमा चरिरहेका तीन सयभन्दा बढी पशु बेपत्ता भएका थिए। लामो समयसम्म पशु फेला नपरेपछि गाउँवासीले जीवितै भेटिने आशासमेत गुमाइसकेका थिए। तर, २७ दिनसम्म घाँस नखाई पनि पशु जीवितै भेटिएपछि स्थानीयवासी खुसी भएका छन्।

उद्धार गरिएका पशुमध्ये ५० वटा घोडा, २० वटा झोपा र २३७ वटा चौँरीगाई रहेका छन्। हिउँमा लामो समय बिताएका घोडाले आफ्नै पुच्छर खाएकाले भेटिएका घोडामा पुच्छर नरहेको वडाध्यक्ष तामाङले बताउनुभयो।

पशुको खोजीका लागि परिचालित तीनवटा समूह अझै खोजीमै रहेकाले थप पशु फेला पर्न सक्ने उहाँले जानकारी दिनुभयो।

ठूलो सङ्ख्यामा पशु बेपत्ता भएपछि नाम्खा गाउँपालिकाले खोजी कार्यलाई सहज बनाउन ताक्चीदेखि ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेन्डर आह्वान गरेको थियो। सडकको हिउँ हटाइएपछि खोजी टोलीलाई प्रभावित क्षेत्रमा पुग्न सहज भएको हो।

लामो समयसम्म हिमपातमा फसेका पशु जीवितै भेटिएपछि लिमीका स्थानीयवासीले राहत महसुस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्