९५ प्रतिशत शिक्षकले तलब पाएनन्, सञ्चालकविरुद्ध आन्दोलनको घोषणा



काठमाडौं असोज ४ ।

९५ प्रतिशत शिक्षकले तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले सञ्चालकविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन इस्टुले आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पहिलो चरणमा उनीहरुले असोज ९ गते देशभरका पालिकामा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन प्याब्सन र निजी तथा आवासीय विद्यालय एसोसियसन एनप्याब्सनका सबै तहमा ध्यानाकर्षण पत्र बुझाउने भएका छन् ।

यस्तै, ११–१३ असोजसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संशाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम् दिने र १५ असोजमा सबै महानगरपालिका र उपमहानगरपालिका धर्ना दिइने छ ।

इस्टुका अध्यक्ष होमकुमार थापाले त्यतिले पनि मागको सुनुवाई नभए असोज १८ गते देशभरीका प्रमुख शहरहरूमा विरोध र्‍याली र कोणसभा गरिने बताए । निजी विद्यालय सञ्चालकले कोरोनाको कारण देखाउँदै शिक्षकलाई तलब नदिने, जागिरबाट बर्खास्त गर्ने क्रम बढेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष थापाको भनाई छ ।

निजी विद्यालयका झण्डै २ लाख जति शिक्षकमध्ये ९५ प्रतिशत शिक्षक तथा कर्मचारीले तलब नपाएको पनि थापाको भनाई छ । सामान्य अवस्थामा पनि शिक्षकलाई तलब नदिने निजी विद्यालय सञ्चालक अहिले कोरोनाको बाहना देखाउँदै नाफा असुलिरहेका शिक्षकहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्