नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर भेटियो , हुम्लाका सिडियोलाई २४ घण्टे स्पष्टीकरण



हुम्ला असोज ८ ।

लामो समयदेखि हराएको हुम्लाको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए। अध्यक्ष लामाका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हो। हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको उनले बताए।

गाउँपालिका र जिल्ला प्रशासनले पिल्लर भेटाएपछि अव रेखाँकन गर्ने काममा प्राविधिक लागिरहेको उनले बताए। यसैबीच, हुम्लाको नाम्खा गाउँपालिकाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको बिषयलाई लिएर गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई चौबीस घण्टे स्पष्टिकरण सोधेको छ । ११ नम्वर पिल्लर फेला परेको र उक्त क्षेत्र नापजाँच भइरहेको समयमा मन्त्रालयले छोटो समय राखेर स्पष्टीकरण सोधेको हो।

केही साताअघि जनप्रतिनिधिहरुसँग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ हमालले जनप्रतिनिधि र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेका थिए। सो प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको थियो। त्यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्न र सीमा स्तम्भका बारेमा अनुगमन गर्न लाप्चा खटाएको थियो।

प्रजिअको टोली स्थलगत भ्रमणमा गएको र उनीहरु नफर्किदै गृहवाट स्पष्टीकरण सोधिएको उनले बताए। घटनास्थलको वास्तविकता बाहिर नआउँदै सरकारले सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधेको हो।

सरकारले चीनसँगको सीमामा कुनै विवाद नभएको स्पष्टीकरण बुधबार दिएको थियो। चिनियाँ दूतावासले पनि नेपाली भूभागमा भवन बनाएको कुरा खण्डन गरिसकेको छ। बुधबार बेलुका हराएको ११ नम्वर पिल्लर भेटिएको छ। हाल उक्त क्षेत्र नेपालमा पर्छ या पर्दै भनेर रेखांकन भइरहेको छ। रेखांकनपछि उनीहरुले उक्त क्षेत्रको वास्तविकताबारेमा बारेमा पत्ता लगाउने नाम्खा गाउँपालिका अध्यक्ष लामाले बताए।

प्रतिक्रिया दिनुहोस्