विश्व रेबीज विरुद्धको दिवस मनाइँदै, नेपालमा वार्षिक १०० जनाको मृत्यु



काठमाडौं असोज १२ । आज (सोमबार) विश्व रेबीज विरुद्धको दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको नारा ‘रेबिज अन्त्यका लागि सहकार्य र खोज’ राखिएको छ । प्रत्येक वर्ष रेबिज विरुद्धको दिवस मनाइँदै आए पनि मुलुकमा रेबिजको जोखिम भने घट्न सकेको छैन । कुकुर र मानिसलाई उचित समयमा रेबिज विरुद्धको गुणस्तरीय खोप सेवा पुर्‍याउन नसक्दा यसको जोखिम बढिरहेको छ ।

नेपालमा वार्षिक १०० जनाको मृत्यु
नेपालमा कुकुरको टोकाइबाट आर्थिक वर्ष २०७५/७६ मा ३३ हजार जना र त्यसको अघिल्लो वर्ष २०७४/७५ मा २२ हजार २ सय जना प्रभावित बनेका स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ । तर, ईडीसीडी लगायत कुनै पनि सरकारी निकायसँग नेपालमा कति कुकुरमा रेबिज संक्रमण छ भन्ने तथ्यांक छैन । एक अन्तर्राष्ट्रिय संस्था वर्ल्ड एनिमल हेल्थ का अनुसार, नेपालमा ३० हजार जनावरमा रेबिजको संक्रमण छ । तीमध्ये अधिकांश कुकुर छन् । डब्लूएचओका अनुसार, शरीरमा रेबिजको लक्षण देखिन थालेपछि यसको भाइरसले मानिसको मस्तिष्कमा आक्रमण गर्छ, र समयमा उपचार नपाए ज्यानै जाने जोखिम हुन्छ ।

अहिलेसम्म मुलुकमा रेबिज संक्रमणका कारण ज्यान जानेको यकिन तथ्यांक पनि छैन । तर, ईडीसीडीमा भएको रिपोर्टिङ अनुसार, आव २०७५/७६ मा १८ र २०७४/७५ मा ३२ जनाको रेबिजका कारण मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले भने नेपालमा रेबिजका कारण वार्षिक १०० जनाको मृत्यु हुने अनुमान गरेको छ । डब्लूएचओका अनुसार, शरीरमा रेबिजको लक्षण देखिन थालेपछि यसको भाइरसले मानिसको मस्तिष्कमा आक्रमण गर्छ, र समयमा उपचार नपाए ज्यानै जाने जोखिम हुन्छ । करीब ९९ प्रतिशत मानिसमा संक्रमित कुकुरको टोकाइबाटै रेबिज लाग्ने गरेको डब्लूएचओले जनाएको छ । रेबिजका कारण विश्वमा प्रत्येक वर्ष करीब ६० हजार मानिसको मृत्यु र ३७ लाख अशक्त हुने गरेको पनि डब्लूएचओको तथ्यांक छ । मृत्यु र अशक्त हुनेमा पनि करीब ४५ प्रतिशत दक्षिण एशियाली मुलुकका छन् ।

रेबिजबाट सबैभन्दा बढी बालबालिका प्रभावित
रेबिजबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका छन् । डब्लूएचओको तथ्यांक अनुसार, रेबिज लागेका व्यक्तिहरुमध्ये करीब ४० प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका हुने गरेका छन् । रेबिजबाट सबैभन्दा बढी एशिया र अफ्रिकी मुलुकका ग्रामीण समुदाय प्रभावित छन् । पछिल्ला केही वर्षको तथ्यांक हेर्दा रेबिज विरुद्धको भ्याक्सिनको खपत वार्षिक करीब तीन लाख भायलको हाराहारीमा भइरहेको छ । ईडीसीडीका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा २ लाख ३६ हजार २२ र २०७४/७५ मा २ लाख ८१ हजार ७१८ भायल भ्याक्सिनको खपत भएको थियो ।

रेबिज के हो र कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्को जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

रेबीज रोगका लक्षणहरु
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।

उपचार विधि
रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्