बझाङ घटनाबारे सांसदद्वारा सभामुखको ध्यानाकर्षण



काठमाडौं असोज १३ ।

सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ जबरजस्ती करणी घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताएका हुन् ।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे। उनले आफ्नो तर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

बझाङबाट प्रतिनिधिसभा सदस्य आशा कुमारी वि.क लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको जबरजस्ती करणीपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन्।

सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्