कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने



काठमाडौं असोज १४ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारी बैठकले आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए।

उनका अनुसार संसदको बैठक माग गर्ने विषयमा केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकमा छलफल गरिने छ। संसदीय दलको बैठक कहिले गर्ने भन्ने विषय भने अहिले नै टुंगो लागिसकेको छैन । आजको पदाधिकारी बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा पनि छलफल गरेको छ।

केही दिनअघि पौडलेसहितका २७ जना केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता गराएका थिए । विरोधपत्रमा पार्टी सभापतिले विधान र विधि भन्दा बाहिर गएर विभाग गठन र विस्तार गरेको, सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त हुँदा पनि प्रतिपक्षीले भूमिका नखेलेको उल्लेख गरिएको थियो। बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा देउवा समूहका नेतामात्रै सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्