उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनको तयारी



काठमाडौं भदौ १६ ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गर्ने स्थानीय प्रशासनले तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेका छन् ।

स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपछि आफूहरूले साझा धारणा तयार गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

दुई विकल्पमा छलफल भएको बताउँदै उनले हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने भन्ने धारणा तय भएको जानकारी दिए । साथै, उनले उक्त धारणा भोलि गृह मन्त्रालयमा लैजाने बताएका छन् । गृहले अनुमोदन गरेपछि निषेधाज्ञाबारे तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिने उनले बताए ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण फैलिरहे पनि निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने दबाब बढ्दो छ । तर भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने स्थिति अझै निषेधाज्ञा बढाउनुपर्ने अवस्थामा रहेको बताए ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको वैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्न गरेको निर्णयको समय बुधवार मध्यरातिबाट सकिँदैछ । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्