प्रदेश ५ को राजधानी भालुवाङमा, नाम लुम्बिनी राखिने



दाङ असोज १६ ।

प्रदेश नं ५ को स्थायी राजधानी दाङको राप्ती गाउँपालिकास्थित भालुवाङमा रहने भएको छ भने नाम लुम्बिनी राखिने भएको छ।

नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी बनाउन सहमत भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने भएको हो । यससम्बन्धी प्रस्ताव आजको प्रदेश सभा बैठकमा पेश भएको छ। यसअघि आजै प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामको निर्णय गरेको थियो।

गाउँपालिकामा प्रदेश राजधानी तोक्ने प्रदेश ५ पहिलो प्रदेश हो। प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा, २ को जनकपुर उपमहानगरपालिकामा, बागमतीको हेटौंडा उपमहानगरपालिकामा, गण्डकीको पोखरा महानगरपालिकामा, कर्णालीको वीरेन्द्रनगर उपमहानगरपालिकामा र सुदूरपश्चिमको गोदावरी नगरपालिकामा स्थायी राजधानी तोकिएको छ।

प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित गरेपछि प्रदेशको स्थायी राजधानी र नामको अन्तिम टुंगो लाग्नेछ। प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो।

भालुवाङ बजार बुटवलबाट करिब १०५ किलोमिटर पश्चिम राप्ती नदीको किनारमा अवस्थित छ। पूर्व–पश्चिम राजमार्गमा पर्ने यो बजारबाट नेपालगञ्जको दुरी करिब १५८ किलोमिटर छ। यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले निर्णय गरेको हो।

नेकपाका प्रदेश– ५ इन्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी बनाउनका लागि लबिङ गरिरहेका थिए। उनी पनि दाङकै स्थायी बासिन्दा हुन्। नेकपा महासचिव विष्णु पौडेल लगायतका नेता भने प्रदेश राजधानी बुटवललाई बनाउने पक्षमा थिए ।

प्रतिक्रिया दिनुहोस्