फरक क्षमताका महिलाहरूको संरक्षण हुनेगरी काम गर्न सरकारलाई निर्देशन



काठमाडौं असोज १६ ।

फरक क्षमताका महिलाहरूको संरक्षण हुनेगरी कोभिड–१९ प्रतिकार्यका कार्यसम्पादन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आयआर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको हो । संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताइन् ।

तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवर्द्धन र संरक्षण हुने गरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो । २०६८ को जनगणना अनुसार १।९४ प्रतिशत अपङ्गता भएका व्यक्ति रहेकोमा कोभिडका कारण त्यो समूहभित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ ।

कोभिडले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुनेगरी नीति बनाउन पनि समितिले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्