विप्लव समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आव्हान



काठमाडौं असोज १६ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् ।

उनले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । विप्लव समुहको नाम नलिकनै प्रधानमन्त्री ओलीले सबै द्वन्द्वरत पक्षसँग सरकार वार्तामा बस्न तयार रहेको बताएका हुन् ।

शुक्रबार मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई लहडको विषय नबनाउन पनि आग्रह गरे । उनले आवश्यक्ता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै केही समयअघिमात्रै संविधानको दोस्रो संशोधन गरेको स्मरण गराए ।

परेका बेला राष्ट्र एकजुट हुनसक्ने भन्दै उनले संविधान संशोधनलाई लहडको विषय बनाउन नहुने बताए । प्रधानमन्त्री ओलीले कतिपयले यो प्रणाली काम लाग्दैन खेलवाडपूर्ण ढंगले अभिव्यक्ति नदिन पनि आग्रह गरे ।

प्रधानमन्त्रीले मानवअधिकारको आन्दोलन नक्कली आन्दोलन नहुने भन्दै मानवअधिकारका विभिन्न पक्षहरु रहेकाले यो अधिकार राजनीतिक दल खोल्ने कुरामा मात्रै सिमित नरहेकाले जनताको सम्मान, सुरक्षा, आर्थिक अवस्था र स्वास्थ्यलगायत विभिन्न पक्षसँग पनि मानवअधिकारको कुरा जोडिएको बताए । उनले मानवअधिकारको रक्षा गर्ने पहिलो दायित्व राज्यको भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्