बाढी पहिरो प्रभावितहरुको व्यवस्थापन हिउँदसम्म हुन्छ : गृहमन्त्री थापा



काठमाडौं असोज १६ ।

गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् ।

अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बाग्लुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उनले बताए । सिन्धुपाल्चोकका प्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले हिउँद सुरु हुनु अगाडी नै पालमा बसेका नागरिकहरुको व्यवस्थापन गरिने बताए ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङले जिल्लाका विभिन्न स्थानमा गरी अहिले ३ सय ५१ बस्ती जोखिममा रहेको बताए । यो वर्ष मानविय र भौतिक क्षति भएका समेत गरी ३ सय ५१ बस्तीका ६ हजार ५ सय ७१ परिवार जोखिममा रहेको उनले बताए । जिल्लाका १८ वटा बस्तीहरु अति जोखिममा रहेकाले आगामी वर्षको बर्खा सुरु हुनुअघि नै सार्नुपर्ने अवस्था रहेको उनले बताए ।

यो वर्षको असार २४ गतेबाट भदौ २७ सम्म १ सय १३ जना गरी विगत पाँच वर्षमा सुन्धुपाल्चोकमा प्राकृतिक विपदबाट ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ । १७ सय ७० जना घाइते भएका छन । भने ५५ करोड ८२ लाख बढीको आर्थिक क्षति भएको छ ।

गत असार २४ गते बाह्रबिसे नगरपालिका ५ जबमु र खागदमा गएको पहिरोमा परि २१ जना, साउन २० गते जुगल २ लिदीमा गएको पहिरोमा परि ३९ जना र बाह्रबिसे ७ को भिरखर्च र नागपुजेमा ३१ जनाको मृत्यु भएको थियो । यो वर्ष देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्