साइबर अपराधमा संलग्न फरार एक कुख्यात अभियुक्त पक्राउ



काठमाडौं असोज १८ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले साइबर अपराधमा संलग्न रही फरार एक कुख्यात अभियुक्तलाई इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ ।

पक्राउ पर्नेमा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकाय रहेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । रोकाय भारतबाट नेपाल आउन लागेको सूचना प्रहरीले थाहा पाएको थियो ।

रोकायले आइटी इन्जिनियरिङमा डिग्री गरेको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल म्यासेन्जर, भाइबरबाट नर्सहरुलाई आइटीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको एसपी राठौरले बताए ।

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध र ठगी सम्बन्धी ५ वटा मुद्दा काठमाडौँ परिसरमा दर्ता भएको एसपी राठौरले बताए । एसपी राठौरका अनुसार रोकाय एउटा मुद्दामा १ लाख धरौटीमा रिहा भइसकेका छन् ।

सर्वसाधारण भन्दा पनि रोकायको निशाना नर्सहरुमा थियो । नर्सहरुले जति पनि पैसा खर्च गर्नसक्ने भएकाले नर्सहरुलाई निशाना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रोकायविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो र महानगरीय अपराध महाशाखामा समेत साइबर अपराध तथा ठगी सम्बन्धी जाहेरी परेको बताइएको छ । रोकायलाई खोज्न नेपाल प्रहरीको एक अनुसन्धान टोली नै परिचालित थियो ।

प्रतिक्रिया दिनुहोस्