स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, दुर्घटनाबारे छानबिनको माग



स्पेन, कात्तिक १२ — स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्।

दुर्घटना हुँदा दुवै रेलमा ५०० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ। दुर्घटनाबाट रेलका डिब्बामा ठूलो क्षति पुगेको छ भने उद्धार तथा खोजी कार्य जारी रहेको छ।

दुर्घटनामा बाँचेका एक यात्रुले बीबीसीसँग कुरा गर्दै ठोक्किएपछि सुटकेसहरू उड्न थालेको र यात्रुहरू चिच्याउन थालेको बताएका छन्। दुर्घटनापछिको भयावह दृश्यले आफूलाई गहिरो मानसिक आघात पुगेको उनको भनाइ छ।

स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबीका कारण सुरुमा दुई दुर्घटनाग्रस्त रेलसहित छवटा रेल रोकिएका थिए। प्रणालीमा समस्या आएपछि नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने व्यवस्था रहेको उनले बताए।

तर नियन्त्रण केन्द्रले नै ती रेललाई पुनः सञ्चालन गर्न अनुमति दिएको र गति सीमासमेत नतोकेको मन्त्री पुएन्तेले बताएका छन्। उनले यस्तो निर्णय कुन परिस्थितिमा गरियो भन्ने विषयलाई ‘व्याख्या गर्न नसकिने अवस्था’ भनेका छन्।

घटनापछि यातायात मन्त्रालयबाहिर प्रदर्शनसमेत भएको छ। स्पेनका ठूला श्रमिक सङ्गठनमध्ये एकले यातायातमन्त्री पुएन्तेको राजीनामा माग गरेको छ।

प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सिङ्गो स्पेन शोकमा रहेको बताएका छन्। उनले दुर्घटनाको वास्तविक कारण पत्ता लगाइने र कुनै लापरबाही भएको भए त्यसलाई सार्वजनिक गरिने प्रतिबद्धता जनाएका छन्।

दुर्घटनाको कारण, रेल सञ्चालनमा भएको सम्भावित त्रुटि र नियन्त्रण केन्द्रको निर्णयबारे थप अनुसन्धान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्