बाढीले सेवा अवरुद्ध भएपछि विदुरका खानेपानी उपभोक्तालाई एक महिनाको महसुल छुट



नुवाकोट, कात्तिक १२ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले खानेपानीको स्रोत तथा पाइपलाइनमा क्षति पुर्‍याएपछि विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक महिनाको न्यूनतम महसुल छुट दिने निर्णय गरेको छ ।

गत भदौ १० गते आएको बाढीका कारण भदौ महिनाभरि खानेपानी सेवा सञ्चालन गर्न नसकिएको जनाउँदै संस्थाले उक्त महिनाको न्यूनतम महसुल छुट दिने निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठका अनुसार उपभोक्तालाई १५ युनिट बराबरको न्यूनतम महसुल छुट दिइनेछ । बाढीका कारण खानेपानीको स्रोत र पाइपलाइनमा क्षति पुगेपछि नियमित सेवा दिन नसकिएकाले उपभोक्तालाई राहतस्वरूप महसुल छुट दिने निर्णय गरिएको उनले बताए ।

संस्थाका व्यवस्थापक राजकुमार तिमिल्सिनाले सेवा अवरुद्ध भएको महिनाको महसुल तिर्नुपर्दा उपभोक्तालाई थप आर्थिक भार पर्ने भएकाले न्यूनतम महसुल छुट दिने निर्णय गरिएको जानकारी दिए ।

संस्थाका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार महसुल छुटको निर्णयबाट विदुर नगरपालिका क्षेत्रका खानेपानी उपभोक्तालाई राहत पुग्नेछ । संस्थाको कार्यसमिति बैठकले गरेको निर्णयबारे सचिव रघुनाथ रिमालले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्